Section 13
प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्युरियोको सारफेर, खरीद विक्री निकासी वा संग्रहमा प्रतिबन्ध :

(१) नेपाल सरकारबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको ऐतिहासिक पुरातत्व सम्बन्धी वा कलात्मक वस्तु नेपाल … … …बाट विदेश निकासी गर्न तथा नेपाल … … …भित्र पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन, कुनै ठाउँमा सार्न संग्रह गर्न परेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
तर उपदफा (३) बमोजिम उल्लेख भए बमोजिम नेपाल सरकारको स्वीकृत निस्सा लागेको क्यूरियो निकासी गर्न वा नेपाल … … …भित्र वा एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न यसले कुनै बाधा पुर्याएको मानिने छैन ।

(२) कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत, परम्परागत वा पुख्र्यौली संग्रहहरूमा एकसय वर्षभन्दा पुरानो पुरातात्विक वस्तु रहेको छ भने त्यस्तो संग्रहको धनीले सो वस्तु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्यादभित्र तोकिदिएको कार्यालयमा दर्ता गराउनु पर्नेछ । तर यस उपदफाबमोजिम कुलदेवताका मूर्तिहरू दर्ता गराउन आवश्यक पर्ने छैन ।

(२क) उपदफा (२) बमोजिमको म्यादभित्र कुनै व्यक्ति वा संस्थाले सम्बन्धित कार्यालयमा पुरातात्विक वस्तुहरू दर्ता नगराएमा सो कार्यालयले सम्बन्धित व्यक्ति वा संस्थालाई उपदफा (२ख) बमोजिम लाग्ने जरिवाना तिरेमा सो पुरातात्विक वस्तुहरू दर्ता गर्न सकिने व्यहोरासमेत उल्लेख गरी पैंतीस दिनको म्याद दिनेछ ।

(२ख) उपदफा (२क) बमोजिम दिइएको म्यादभित्र कुनै व्यक्ति वा संस्थाले आफूसँग भएको पुरातात्विक वस्तुहरू सम्बन्धित कार्यालयमा दर्ता गराउन ल्याएमा सो कार्यालयले त्यस्ता व्यक्ति वा संस्थालाई पाँचसय रूपैयाँदेखि पाँचहजार रूपैयाँसम्म जरिवाना गरी त्यस्ता पुरातात्विक वस्तुहरू दर्ता गर्नेछ । त्यसरी दिएको म्यादभित्र पनि कसैले पुरातात्विक वस्तुहरु दर्ता नगराएमा सम्बन्धित कार्यालयको सिफारिशमा पुरातत्व विभागले त्यस्ता पुरातात्विक वस्तुहरू बिना मोलमा लिन सक्नेछ ।

(३) क्यूरियोको उत्पादन वा बिक्री व्यवसाय गर्न चाहने वा त्यस्तो उत्पादन वा बिक्री व्यवसाय गरिरहेको कुनै व्यक्ति वा संस्थाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्यादभित्र तोकिदिएको कार्यालयमा आफ्नो नाम दर्ता गरी इजाजत–पत्र लिनु पर्नेछ र त्यस्तो उत्पादित प्रत्येक क्यूरियोमा बिक्रेताको नामसहितको नेपाल सरकारबाट स्वीकृत निस्सा लगाएको हुनुपर्छ ।

(४) क्यूरियो खरीद गर्नेले पनि उपदफा (३) बमोजिम स्वीकृत निस्सा भएको क्यूरियो खरीद गर्नुपर्छ ।

(५) उपदफा (१), (२), (३) र (४) को उल्लंघन गर्ने वा उल्लंघन गर्न उद्योग गर्ने व्यक्ति वा संस्थाको सम्बन्धित व्यक्तिहरूलाई पच्चीसहजार रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै हुनेछ र अपराधसम्बन्धी वस्तु जफत हुनेछ ।

(६) यस ऐनबमोजिम भए नभएको जाँचबुझ गर्न आवश्यक छ भनी ठानेमा प्रमुख जिल्ला अधिकारी वा यस सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी तोकिदिएको अधिकारीले प्राचीन स्मारक वा पुरातात्विक वस्तु, प्राचीन हस्तकला खरीद बिक्री गर्ने, पसल संग्रहालय वा क्यूरियो उत्पादन गर्ने, खरीद बिक्री गर्ने पसल कारखाना वा त्यस्तो वस्तुहरू राखिएको गोदाम घर वा सवारीभित्र वारेण्ट लिई पसी, खानतलासी गर्न र कसूर गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनबमोजिम प्रहरी हिरासतमा राख्न सक्नेछ । यस उपदफा बमोजिम वारेण्ट जारी गर्ने अधिकार मुद्दा हेर्ने अधिकारीलाई हुनेछ ।

(७) यस दफा अनुसारका अपराध कसैले गरेको वा गर्न लागेको भनी कसैले सम्बन्धित अधिकारीमा जाहेर गरी अपराधी पक्राउ भई दोषी ठहरिएमा निजलाई भएको जरिवानाको दश प्रतिशत जाहेर गर्ने व्यक्तिलाई दिइनेछ ।